Tuesday, April 24, 2012

ट्राफिक महाशाखामा छापा

प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले महानगरीय प्रहरी ट्राफिक महाशाखाको दैनिक गतिविधिबारे गुनासो आएकाले प्रधान कार्यालयले 'अनुगमन' गरेको बताएका छन्।'कार्यशैलीप्रति गुनासो आएकाले अनुगमन सुरु गरेका हौं,' शाहले नागरिकसँग भने,

प्रधान कार्यालयले ट्राफिक महाशाखा र मातहत युनिटले आर्थिक अनियमितता गरेको सूचना पाएपछि ट्राफिक निर्देशनालयमार्फत टोली नै गठन गरेर बिहीबारबाट ट्राफिक कार्यालयहरूमा छापा मारेको थियो। टोलीले महाशाखाको बग्गीखाना केन्द्रीय कार्यालयदेखि वडास्तरका ट्राफिक प्रभागहरुमा छापा मारेर नगदी रसिद, जरिवानाको विवरणलगायत महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिइरहेको छ।
यातायात व्यवस्था विभागले सवारी नियम पालना नगर्नेलाई ट्राफिक प्रहरीले २ सय रुपैयाँसम्म जरिवाना लिन पाउने नियम रहेकोमा हालै बढाएर एक हजार रुपैयाँसम्म लिन पाउने अधिकार दिएको थियो। अधिकार प्रत्यायोजन गर्दा यातायातले सही उपयोग नभए फिर्ता गर्न सकिने सर्त राखेको छ।
अधिकार व्यवस्थापन र नयाँ प्रणाली विकास गरी आर्थिक पारदर्शिता कायम गर्नु अनुगमनको लक्ष्य रहेको आइजिपी शाहले बताए। उनले टोलीलाई ट्राफिक गतिविधिबारे अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेवारी तोकिएको जानकारी दिँदै भने, 'यदि कुनै गलत काम भएको देखिए प्रतिवेदनअनुसार कारबाही हुन्छ।'
वैशाख ८ गते गठन भएको तीन सदस्यीय टोलीले बिहीबार बेलुका ट्राफिक प्रहरी महाशाखाको केन्द्रमा छापा मारेर नगदी रसिद र राजस्व संकलन तथा दाखिलाको विवरण कब्जामा लिएको थियो।
टोलीले कार्यविभाग र महानगरीय प्रहरी आयुक्त कार्यालयको जनशक्तिसमेत परिचालन गरेर ट्राफिक वृत्त र प्रभागहरुमा छापा मारेको हो। महाशाखाको निर्देशनअनुसार मापसेबापत जरिवानामा अनियमितता भएको, एकै नम्बरका नगदी रसिदहरुको प्रयोग पटकपटक गरेको, विभिन्न वृत्त र प्रभागबाट संकलन भएका राजस्व दाखिलामा गडबडी भएको उजुरी बढेपछि प्रधान कार्यालयले आफू मातहतकै कार्यालयमा छापा मार्न थालेको स्रोतको भनाइ छ।
इकाइप्रमुखहरुसँग महाशाखाका अधिकारीले मासिक रकम माग गर्ने गरेको आन्तरिक गुनासो बढेकाले त्यसलाई समेत छानबिनको विषय बनाइने प्रधान कार्यालयस्रोतले बतायो।
प्रहरीमा यसअघि कुनै एक कार्यालयमा छड्के अनुगमन गरिए पनि एउटा क्षेत्रअन्तर्गत सबै कार्यालयमा यसरी छापा मारिएको थिएन। चार वर्षजति अघि प्रधान कार्यालयलले दरबारमार्ग प्रभागमा छापा मारेर तत्कालीन प्रमुखले लिएको ५० हजार घुस रकम बरामद गरेको थियो।
महाशाखाका अधिकारीले नक्कली रसिद प्रयोग गर्ने, सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको, आर्थिक गतिविधि र सरुवामा आर्थिक चलखेल हुने गरेको विवरण प्रधान कार्यालयले पाएपछि शाहको निर्देशनमा बिहीबारबाट ट्राफिक महानिर्देशनालयले एसएसपी रणबहादुर चन्दको टोली अनुगमनमा खटाएको हो।
प्रहरी प्रवक्ता विनोद सिंहले ट्राफिक महाशाखाको कार्यप्रणालीलाई आधुनिकीकरण गर्ने र जरिवाना संकलन र रकम दाखिलालाई व्यवस्थित गर्न प्रधान कार्यालयले काम सुरु गरेको जनाए। महाशाखाको प्रणाली सुधार गर्न गरिएको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने सिंहले जानकारी दिए।

No comments: