Friday, November 5, 2010

यसरी बस्यो गोप्य बैठक


तीन दलका शिर्ष नेताहरु शुक्रवार बिहान सवा सात बजे गृह मन्त्रालयमा भेला भएर पर्यटक बोक्ने माइक्रोबस चढी हात्तीबन रिसोर्ट गएका थिए ।
७ बजे गृह मन्त्रालयमा भेला हुने निर्धारित योजनाअनुसार सवा सात बजेदेखि शिर्ष नेताहरु आउन थालेका थिए । साढेसात बजे सबै आएपछि गृहमन्त्रीको कार्यकक्षमा चिया खाएर पौने आठ बजे सबै माइक्रोबस चढेका थिए ।
त्यो माइक्रोबसलाई महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी बिनोद सिंहले अगुवाई गरेका थिए भने उनको पछाडि नेपाल प्रहरीको कमाण्डो मानिने कार्यदलको दस्ताले सुरक्षा प्रदान गरेको थियो । मन्त्रालयबाट शिर्ष नेताहरु कहाँ जाने हुन् भन्ने अंगरक्षकहरुलाई समेत सूचना दिइएन । गृह मन्त्रालयबाट माइक्रोबस हिडनुअघिसम्म सबै नेताका अंगरक्षकसमेत नेताहरु वार्ताका लागी सोलु जान लागेको बताउँदै थिए । मन्त्रालयमा शिर्ष नेताहरुलाई गृहसचिव कुसुमले स्वागत गर्दै भित्र लगेका थिए ।
काठमाडौंबाट करिब १५ किलोमिटर दक्षिण पूर्वमा रहेको हात्तीवन पुग्न झण्डै एक घन्टा लागेको थियो । सबै पार्टीका शिर्ष नेताहरु पुगेका १५ मिनेटपछि सुटुक्क प्रधानमन्त्री माधवकुमार नेपाल निजी जिपमा त्यहाँ पुगेका थिए । अधिकांश नेता अंगरक्षक र सहयोगीबिनै एउटै गाडी चढेर गएकाले उनीहरुले आफ्नो झोला माइक्रोबसबाट उत्रदा आफै काँधमा बोकेर कोठातर्फ गएका थिए ।
स्रोतका अनुसार शिर्ष नेताहरु आउने तय भएपछि बिहीवारदेखि नै रिसोर्ट क्षेत्र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सुरक्षाका लागि पुगेका एक अधिकृतका अनुसार बाहिरी घेरामा सशस्त्र प्रहरी बर्दीमा हतियारसहित बसेका छन भने दोस्रो घेरामा नेपाल प्रहरीको कार्यदलका सुरक्षाकर्मीहरु बर्दीमै र सादा पोशाकमा आधुनिक हतियारसहित बसेका छन । बर्दीमा बसेकाहरुले एसएलआर बोकेका छन् भने सादा पोशाकमा सुरक्षा दिनेहरु सानो हतियारसाथ छन् । सुरक्षा घेरा तोडेर कसैले लुकिछिपी शिर्ष नेताहरु भएको स्थानमा पुग्न प्रयास गरे सकेसम्म नियन्त्रणमा लिने, सम्भव नभए गोली समेत चलाउन आदेश दिएको थाहा भएको छ ।
होटल स्रोतका अनुसार तीन पार्टीका शिर्ष १६ नेताका लागि रिसोर्टका १८ कोठा दुई दिनका लागी बुक गरिएको छ । रिसोर्टभन्दा झण्डै दुई किलोमिटर तल रहको मूल सडकबाटै कसैलाई माथी नपठाउने सुरक्षाकर्मीलाई आदेश दिइएको छ । मूल गेटमा खटिएका सुरक्षाकर्मीले सन्चारकर्मीलाई मूलबाटोमै रोकेका थिए ।
काठमाडौ र उत्तरतर्फका सबै हिमाल छर्लङ्ग देखिने हात्तीवन रिसोर्ट क्षेत्रबाट हप्तौ दिनदेखि बादल र तुवालो लागेका कारण हिमाल र काठमाडौ राम्ररी देखिएको थिएन । होटलका एक कर्मचारी भन्छन्, 'आजै बिहानदेखि काठमाडौं र हिमालहरु दुर्लभै रुपमा खुलेर छ्याङ्ग भएको छ । शिर्ष नेताहरु आएकै दिन मौसम खुलेको देख्दा राष्ट्रले निकास पाउने हो कि !' संधै अगुवा पछुवा सुरक्षाकर्मी लिएर हिडने नेताहरु माइक्रोबसबाट ओर्लदा होटलका कर्मचारीहरु चकित भएका थिए ।

No comments: